Showing posts with label Story {katha}. Show all posts
Showing posts with label Story {katha}. Show all posts

Tuesday, May 17, 2011

एक मनोवाद, एक कथा !!

फेसबुक सायद सबैको दैनिकीमा पर्छ होला... एकसाँझ यसैमा चल्दै बस्दा एउटा Add Request आयो... नाम थियो - सफल पौडेल ... प्रोफाइल हेर्ने रहरले उसको नाममा क्लिक गरें... सबै लुकाईएका रहेछन्... मैले करिब २०० friend  Request Pending मा राखेको थिएँ...  खै के सोच्यो मनले त्यो Request Accept गरें... उसको Wall हेर्न थालें... केही गजलका टुक्राहरु अनि घतपर्दा केही वाक्यांश भेटें.. मन बहलाउन सफल रह्यो...

म काबेरी सिग्देल... काठमाडौँनजिकै एउटा गाउँमा हुर्किएकी केटी... १० सम्मको पढाई उतै सकेर काठमाडौँ छिरें... साहित्यमा रमाउँछु त्यसैले कहिले कहिले कोर्ने पनि गर्छु...  योभन्दा बढ़ी आफ्नो परिचय कसरी दिनु? अलमलमा छु...

Wall हेर्दै गर्दा inbox मा मेसेज आयो... सफलको मेसेज रहेछ... "can i add u in yahoo ? " सोचें के गर्ने होला? "sure" लेखेर रिप्लाई गरें... त्यसैबाट सुरु भयो हाम्रो सम्बन्ध... त्यस्तो सम्बन्ध जसले कुनै सम्बोधन पाएन... सम्बन्ध नजिकिने क्रममा नै एकदिन उसलाई प्रश्न गरेको याद आउँछ... "हाम्रो सम्बन्ध के हो?" उसले असरल तरिकामा जवाफ दियो-"यसको जवाफ तिम्रो सोचाई हो... तिमी मलाई प्रेम गर्छौ भने म तिम्रो प्रेमी हुँ... अनि मित्रताले हेर्छौ भने हामी साथी..." त्यसदिनपछि मैले कहिल्यै हाम्रो सम्बन्धको नाम सोचिँन...

पहिलो दिन नै voice chat मा पुग्यौं... ऊ कथा लेख्दै रहेछ... उसले मलाई पढ्न दिँदै लेख्दै गर्यो... कहीँकतै गल्ती भेट्दा सच्याउने गरेँ... कथा सकियो... उसले आफ्नो Facebook मा post गर्यो... केही likes र comments आयो... अर्कोदिन उसले मलाई त्यही कथा मेरो facebook मा राख्न अह्रायो... उसको आग्रह मैले किन अस्वीकार गर्थें र?? उसले यो किन गर्यो मैले अहिले सम्म पनि बुझिन र सोध्ने काम पनि गरिन...

ऊ आफैले आफैलाई अन्तरमुखी भन्न मनपराउँथ्यो... अनि मलाई पनि सधैँ त्यस्तै लाग्यो... मेरो हरेक दु:ख सुनेर सुल्झाउन तत्पर रहने ऊ, आफ्नो कुनै पनि कुरा मलाई बताएन... उसको नराम्रो पक्ष सायद यही हो... एकदिन उसले एउटा तस्बिर देखायो- डरलग्दो चोटको तस्बिर... त्यसको बारेमा केहि सोध्नु भन्दा पहिले नै मलाई नसोध्न भन्यो... उसले त्यति भनेपछि उसलाई सोध्नु पनि व्यर्थ नै थियो किनकी अब उसले त्यसको बारेमा केहि भन्दैन भन्ने थहा थियो... जिद्दीपन उसको स्वभाव नै हो... तर त्यससँगै उसले भन्यो "केही दिनपछि थाहा पाउनेछौ.." केहि हप्तापछि सुनायो त्यो उसको हातमा लागेको चोट रहेछ... अनि यसैबाट नै थाहा पाउन सकिन्छ कि ऊ बोलीको पनि पक्का मान्छे हो... कम बोल्ने अनि बोलेको कुरा हर हालतमा पुरा गर्ने...

सफलसँगको हरेक Chat अथवा कुराकानीले उसप्रतिको आकर्षण बढ्दै थियो... सकेसम्म यो कुरा उसबाट लुकाउनै खोजेको थिएँ तर समय बित्दै रहँदा मैले आफैलाई सम्हाल्न सकिँन र एउटा बेनामी प्रेमपत्र उसको नाममा लेखेँ अनि उसले सधैँ सुन्ने Radio Programमा पठाएँ... उसले सुन्ने कुरामा त म विश्वश्त नै थिएँ... तर मैले नसोचेको कुरा उसले त्यो पत्र मैले लेखेको थाहा पाएछ... यस घटनापछि मैले थाहा पाएँ कि उसलाई अब प्रेममा  विश्वास बाँकी रहेनछ... मानशीसँग उसको पुरानो प्रेमकथा, मानशीले उसलाई दिएको धोका अनि उसले अझसम्म मानशीलाई भुल्न नसकेको कुरा सुनायो...

मानशी गिरी, उनीसँग सफलको भेट एअरपोर्टमा भएको रहेछ... सफलको दाई जापानको भ्रमणमा जानेबेला मानशी पनि उसको दाईसँगै रहेछ... परिचय र फोननम्बर साटासाट भयो... त्यसपछि कुराकानी र भेटघाट बढ्दै गर्दा सफललाई मानशीप्रति प्रेम पनि बढ्दै गयो... सफलले प्रेमप्रस्ताव राख्यो र मानशीबाट पनि सकारात्मक जवाफ पायो... तर केही महिनापनि बित्न नपाउँदै मानशीलाई अर्कै केटा मनपर्ने कुरा थाहापाएछ... त्यसै कारणले उनीहरुको सम्बन्ध टुट्यो अनि सफलको प्रेममाथिको विश्वास पनि...

सफलको कुनै व्यवहारले मलाई उप्रति आकर्षित हुन रोकेन... ऊ त्यस्तै नै थियो... सोधेको कुरा हरेकको प्रतिक्रिया दिन्थ्यो तर आफैलाई खै कता कता लुकाएरै राखेको जस्तो... आफ्नो अगाडि एउटा ऐनासरहको पर्खाल उभ्याएको थियो... जसको पछाडि उभिएर ऊ हरसमय मलाई चिहाईरहन्थ्यो... मेरा हरेक कुरा खोतल्थ्यो... तर जब म उसलाई हेर्न खोज्थेँ, फगत आफ्नै प्रतिबिम्ब मात्र देख्थेँ...

सफल जे थियो अनि जस्तो थियो, ममा ऊप्रतिको आकर्षण बढ्दै नै थियो... उसलाई मेरो बनाउन सक्ने कुनै बाटो बचेको थिएन सायद त्यसैले होला ममा नयाँ रहर पलाउन थाल्यो- सफल जस्तै बन्ने... उसलाई यो कुरा पनि सुनाएँ... उसले नकारीदियो... उसको तर्क थियो "मेरो जिवन बाँच्न सजिलो छैन... र मेरो जस्तै जिवनको भुमरीमा तिमी हिँडेको म हेर्न चाहन्न..." तर मेरो मनले यो कुरा मान्न सकेन... म हरेकढंगमा "सफल"जस्तै बन्ने प्रण मनमनै गरेँ... उसको हरेक बोली र तरिकाहरु पछ्याउन सुरु गरेँ... केहीसमय बितेपछि सफलले ममा आएको परिवर्तनको भान पाएछ... कारण सोध्यो तर भन्ने मन गरेन...

अचेल हामी पहिले जस्तो सँगै छैनौँ... टाढिएकै पनि भन्न सकिन्न तर पहिले जति सामीप्यताको आभाष थियो, त्यो भने कम भएको हो कि जस्तो लाग्छ... यसको कारण के थियो कहिल्यै थाहा पाउन सकिनँ... जतिपटक कारणको बारे सोच्न खोज्छु हरेकपटक उसको भनाई मात्र याद आउँछ अनि मेरो सोच अघि बढ्दैन... उसको भनाई नै त्यस्तै थियो... "हामी अहिले जति नजिक छौ नि, हामी सधैँ त्यति नै नजिक रहन सक्दैनौँ... अनि एउटा कुरा विश्वश्त बस... हामीमा जुन दुरी आउनेछ त्यसको एकमात्र कारण म हुनेछु..."
Read more »

Saturday, June 12, 2010

तिमी र म... 2...

आज तिम्रो मृत्युको नवौं दिन... त्यस दिनदेखिको लगातार बेहोसी... भारी भएको छाती र सोचमा डुबेको मष्तिस्क... तिम्रो मृत्यु बाहेक के नै पो छ र सोच्नु पर्ने... आफैलाई दोषी मानेर सजाय दिनेगर्छु... न खाएको छु न निदाएको नै... सबै काम अलपत्र छन्... न बाबाआमा हेरेको छु... न घरको गाईबस्तु नै... आफु त सधैको लथालिंग...
तिम्रो मरणको साँझ तिम्रो साथीको हातबाट एउटा खाम पाएँको थिएँ... आज अकस्मात् सम्झिएँ... कहाँ राखेको थिएँ याद आएन... खोज्ने जाँगर पनि चलेन... आफैलाई जबरजस्ती अह्राएँ... कोठामा छिरें... अर्को लथालिंग... कहाँ खोज्ने... ओछ्यान मुनि... सिरानीमुनि... टेबुल माथि... सबै हेरे... झ्यालको डिलमा... अहँ! पत्तो लागेन... दिमाग झन् तातेर आयो... आफैसंग झन् रिस उठ्यो... उस्तै मिल्ने हो भने म पनि आत्महत्या गर्थें... सोच्दा सोच्दै याद आयो... मैले त आफ्नै पाईन्टको गोजीमा राखेको थिएँ... गोजी छामें... भेटें... थोरै खुशी लाग्यो तर हाँस्न सकिन.... सायद दु:ख नै ज्यादा थियो...
पत्र खोलें... सम्बोधन थिएन... पहिलो हरफ सुरु गरें...
तिमीलाई भेटेको आज ठिक ३३ दिन भयो... त्यो भन्दा पहिले तिम्रो र मेरो देखभेट केही थिएन... तर जुन दिन तिमीलाई भेटें तिमीमा त्यसै हराउन पुगेछु... त्यसदिन तिमीसंग बोलिन.. पछि पश्चाताप लाग्यो... तर मनमनै विश्वास पलायो... तिमी मेरो निम्ति यस धर्तीमा आएको हौ...
त्यसदिनका घटना याद आए... म पनि त उनीसंग बोलिन नि... तर मलाई पश्चाताप भने भएको थिएन... आखिर मैले कहिले चाहीं प्रेम-सम्बन्धको बारेमा सोचे र... पत्र पढ्नु उचित लाग्यो... दोश्रो हरफ हेरें...
नभन्दै भोलिको दिन हाम्रो भेट भयो... अनि चिनजान पनि... तिम्रो मिलनसार बानीले हामीलाई चाडै नै नजिक गरायो... अनि हामी एकअर्कासंग एकदम खुशी थियौं... म विश्वस्त थिएँ... तिमीले मलाई माया गर्छौ... त्यसैले कहिले अभिव्यक्त गरिन... मन-मनै माया गरिरहें... अनि मन-मनै स्वीकारिएको सोचिरहें... आखिर तिम्रो व्यवहारमा त्यस्तो केही थिएन जसले गर्दा म सोच्न सकुँ कि तिमी मलाई माया गर्दैनौ... तिमीलाई नभेट्दा तिम्रो बारेमा सोच्नु बाहेक अरु केही गर्न सक्दिनथिएँ.... तिम्रै यादमा अनि तिमीसंग को सुन्दर भविष्यको कल्पना गर्दै कहाँ कहाँ  हराउथें...
मनमनै हासों लाग्यो... तिमीले मलाई गलत बुझेको थाहा पाउँदा... हाँस्नै त के सक्थें र... एक त म अन्तर्मुखी मान्छे...कम बोल्न रुचाउने... तिमीसंग पनि त्यस्तै नै थिएँ... फेरी एउटा भनाई याद आयो...प्रेम अन्धो हुन्छ... तिम्रो मृत्यु पछी मैले यो मान्न थालेको थिएँ कि तिम्रो प्रेम साँचो थियो... अनि त्यसैले सायद अन्धो पनि...
अस्तिको दिन जब मैले पहिलो पटक तिम्रो हात समाएँ... अनि तिमीले बिरोध गरेनौ म झन् दृढ भएँ... हाम्रो प्रेमको बारेमा... तर एक्कासी जब तिमीले हात नसमाई हिड्न आग्रह गर्यौ म छाँगाबाट खसेझै भएँ... जुन सम्बन्धलाई म प्रेम ठान्थें त्यसमाथि शंका लाग्न थाल्यो... अनि तिमी माथि पनि... प्रश्न गरें तिमीलाई तर प्रश्न विपरित जवाफ आयो... तिमीले मलाई माया नगर्ने भन्ने कुरा स्पष्ट  भन्यौ... फेरी उस्तै प्रश्न सोधें... तिमीले जवाफ दिएनौ... म भोलिको दिनमा  जवाफको आशा राख्दै घर तिर लागें...
घरमा आज अर्कै वातावरण रहेछ... मेरो बिहेको कुरो छिनिएछ... अर्को चिन्ताले छोप्यो... रातभर निदाउन सकिन... सम्झनाहरु संग खेल्दै बसें... मलाई थाहा थियो म तिमी बाँच्न सक्दिन... तर बाबाआमा को अगाडी म केही बोल्न सक्दिनाथिए... त्यसैले पनि होला विवाहको कुराको विरोध गर्न सकिन... आशाको थोरै झिल्को बाकी थियो आउने दिन जुन दिन म तिम्रो जवाफ पाउदै थिएँ...
केही सोच्न सकिंन... अर्को हरफमा आँखा पुराएँ...
साँझ सम्म कुर्ने धैर्यता रहेन... बिहानै तिम्रो घर पुगें... आफ्नो बिहेको कुरा चलेको पनि सुनाएँ... तिमीले अझ अस्विकार गर्यौ... म थोरै आवेगले भरिएँ... छातीभरि आँसु जमेको आभास भयो... त्यहाँ बसेर रुन चाहींन... एकान्त खोज्दै दौडिएँ... तिमीले बोलाए झैँ लागे पनि वास्ता गरिन... तिमी पछि-पछि आउदै रहेछौ... ठिक लागेन... त्यसैले तिमीलाई भाग्ने प्रस्ताब राखें... मैले चाहे जस्तै भयो... तिमी चुपचाप आफ्नो बाटो फर्कियौ... दिनभरी एक्लै रोइरहें...
साँझमा घर पुग्दा मन फिक्का थियो, तर घरको  मौशम रंगिन... भोलिपल्ट मेरो टिकाटाला पक्कापक्की भएको थियो... त्यसदिन अकस्मात बाहिर निस्कने काम पर्यो... तिमीलाई पनि भेट भयो... तिमी बोलेनौ... मनमा धेरै कुरा थियो... कुन चाही भनौ भन्ने सोच्दैमा म पनि बोल्न पाइन... तिमी नबोलेकोमा रिस उठ्यो...
उसको सोझोपन देखेर हाँसो उठ्यो... अनि लामो समयपछि एकपटक हासें... मनमनै... तर तिम्रो प्रेमलाई नबुझेको र नस्विकारेकोमा आफैसंग रिस पनि... सायद त्यो दिनको मेरो शब्दले तिमी आत्महत्या गर्ने थिएनौ होला... किनभने साँझसम्म मैले आफ्नो मन बदलेको थिएँ... मात्र प्रतिक्षा थियो तिम्रो एक अर्को प्रस्तावको जसलाई म सहर्ष स्विकार्थें... तिम्रो मृत्युको दिन पनि तिम्रो घरमा त्यही भन्न आएको थिए... तिम्रो बिहे रोक्न तिम्रो बाबालाई भन्ने... नत्र भाग्ने...
अब अन्तिम हरफ पढ्न सुरु गर्यो......
घर आएँ... तिमीसंगको भविष्य फेरी सोचें... अहँ, यो दुई दिनमा तिमीले जस्तो रुप देखायौ तिम्रो सत्यता त्यही हो... अनि त्यो भन्दा अघि तिमी नाटक गर्दै थियौ... आफ्नै जीवन भारी लाग्न थाल्यो... र आत्महत्याको सोच बनाएँ... एकपटक सबैलाई सम्झे...परिवार र साथी... बिहे पछी सबैसंग टाढिने निश्चित थियो... त्यसैले आत्महत्याको बाटो सजिलो लाग्यो.... तिम्रो नाममा अन्तिम पत्र कोरेर बिदा हुदै छु...
तिमीलाई माया गर्ने...
मन फेरी रोयो... आँखाले पनि नबगी रहन सकेन... सायद अन्तिम दिनमा तिमीप्रति झुकाव नबढेको भए म यति बिथोलिने थिईन... अनि मैले अहिले थाहा पाएको कुरा अलि पहीले नै थाहा चेको भएको भए केही फरक हुन्थ्यो होला हाम्रो सम्बन्ध... तिमीले ब्यक्त गरेनौ  मैले बुझ्न चाहिन... गल्ती मेरो पनि हो तर तिमीले आत्महत्या गरिहाल्न नहुने हो... केही धैर्यता तिमीमा पनि नभएकै हो...
Read more »

Friday, June 11, 2010

तिमी र म...

रात्रिको सुनसान.. एक्लै सोच्दै थिए... के तिमी मेरो कारणले नै आत्महत्या गर्न बाध्य भयौ??? आज आठ दिन बित्यो मलाई यही प्रश्नले झस्काउन सुरु गरेको... अहिले पनि झस्किएँ...
दशदिन अघि हामी सदाझैँ त्यही ठाउँमा भेट्यौं... त्यस्तै कुराकानी गर्यौ जस्तो सधै गर्थ्यौ... त्यो दिन साँझसम्म अनेक कुरा गर्दै समय बित्यो...रात पर्यो.. बाटो अन्धकार थियो अनि अलि गाह्रो  पनि... मैले प्रस्ताब राखे:
म: म तिमीलाई घरछेउ सम्म लगिदिन्छु...
तिमी: पर्दैन..
म: किन?
तिमी: म एक्लै जान्छु..
म: झन् एकछिन अझ कुरा गर्न पाइन्छ  भनेको त?
तिमी: त्यसोभए हुन्छ नि त...
करिब २० मिनेटको जंगलछेउ बाटो... उसलाई एक्लै छाड्न मन लागेन... सायद डर लाग्यो तिमीलाई केही होला कि भन्ने... हामीले भेट्ने ठाउँ भन्दा हाम्रो घर ठिक उल्टो पर्थ्यो... तिम्रो पश्चिम मेरो पूर्व...
तिमी: आज तिमीलाई घर पुग्न ढिला हुनेभयो?
म: ठिकै छ.. कहिलेकहिँ यस्तै त हो...
तिमी: तै पनि मेरो लागी भनेर...
म: मैले साथीको लागी यति गर्नु हुन्न र?
तिमी: हुन्छ.. त्यसैले त हुन्छ भने नी...
हामी नयाँ साथी... भेट भएको एक महिना पनि पुरा भएको थिएन.... हामी कसरी यति नजिक भयौं??? गहिरो सोचमा हराउँदै थिए म... एक्कासी तिमीले मेरो हात समायौ... सोचें थाकेर सहारा चाह्यौ  होला... तिम्रो शरीर सधैको कमजोर न हो ... मैले तिमीलाई हेरें... तिमी मुस्कुरायौ... म जबरजस्ती ओठ खोलें... मनमा अजिब तरङ्ग चल्दै थियो... एक त आज सम्म कोही केटीको हात समाएको थिइन... अझ त्यो घनघोर अन्धकारमा... आफैलाई सम्हाल्न गाह्रो होला जस्तै लाग्यो...
म: मेरो हात नसमाई हिंड न... मलाई कस्तो अप्ठ्यारो लाग्दै छ...
तिमी: किन अप्ठ्यारो नि???
म: तिमीलाई थाहा छ नि...
तिमी: के र?
म: केही पनि होइन...
तिमी: भन न... प्लिज...
म: जिद्दी नगर न...
केहीबेर हामी दुवै मौन बस्यौ... तिमी रिसाएको अनुहार लिएर... अनि म मनभित्रै घोतलिएर... एक्कासी तिम्रो आवाजले झस्कायो...
तिमी: तिमी मेरो बारेमा के सोच्छौ?
म: राम्री छौ... जवान... मिलनसार...
तिमी: मात्रै?
म: अरु के त?
तिमी: तिमी मलाई माया गर्छौ?
म: तिमी मेरो मिल्ने साथी हौ... सायद तिमीभन्दा बढी म कसैलाई माया गर्दिंन...
तिमी: साथी मात्र?
म: भन्नाले?
तिमी: के तिमी र म बिचमा मित्रता बाहेक केही छैन?
उसको विचार बुझ्न सकिन... मौन बसें...
तिमी: किन चुपचाप?
म: बोल्ने कुरा पाइन...
तिमी: के हामी साथी मात्र हौँ?
म: म त त्यही सोच्छु...
तिमी: तर म त तिमीलाई मन परौंछु...
म: के भन्यौ??? तिमी होसमा त छौ???
तिमी: म एकदम साँचो बोल्दै छु...
त्यतिकैमा तिम्रो घरनजिक आइपुग्यौं...
तिमी: मलाई यसको उत्तर भोलि चाहिन्छ...
म: हुन्छ...
उत्तरको वास्ता नगरी तिमी भागे झैँ लाग्यो... म बाटोभरी सोच्दै हिडें... करिब ३५,मिनेटको बाटो काट्न १ घण्टा भन्दा बढी लाग्यो...रातभर पनि निदाउन सकिन... तिमीसंग बिताएका पलहरु मस्तिष्कमा नाचिरहे...
.............................................................................
आज भन्दा ९ दिन अघि बिहानीमा तिमी मेरो घरमा आयौ... मुहार केही मलिन अनि अनुहारमा चमक हरेको... मलाई ठम्याउन  गाह्रो परेन तिमी केही गहिरो सोचमा छौ...
म: के सोच्दै छौ??
तिमी: मेरो हिजोको प्रश्नको उत्तर के हो??
म: जे मैले हिजो भनें... म मित्रता भन्दा माथि उठ्न चाहन्न... म मित्रतामा एकदम सन्तुष्ट छु....
तिमी: अनि म?? मेरो बारेमा सोचेनौ...
म: अहँ... (ढाट्न चाहिँन..)
तिमी: के रे?? त्यसो भए तिमीलाई मेरो चिन्ता छैन होइन त??
म: त्यसो होइन, तर प्रेम-सम्बन्धको बारेमा मेरो आफ्नै धारणा छ...
तिमी: कस्तो धारणा?
म: म प्रेममा विश्वास गर्दिन...
तिमी: यदि तिमी साँचो बोल्दै छौ भने अब हाम्रो भेट कहिल्यै हुन्न....
म: किन?
तिमी: मेरो घरमा मेरो विवाहको कुरा चल्दै छ...
म: अनि तिमी बिहे गर्न चाहन्नौ?
तिमी: म तिमीबाहेक अरुसंगको जीवन सोच्न पनि सक्दिन...
म: तर म कसैसंग पनि आफ्नो जीवन सोच्न सक्दिन... (सायद पहिलो पटक मभित्र को घमण्ड उसको सामु प्रस्तुत भयो..)
तिमी: त्यसो हो भने म आफ्नो जीवन बलि चढाउँ??
म: मलाई थाहा छैन... जे मन लाग्छ गर...
तिमी: हवस्...
तिमी रिसाएर गयौ... म तिम्रो पछीपछी आएँ..... तिमीले वास्ता गरेनौ.... मैले पछ्याउन छोडिन...तिमीले एकपटक मलाई हेर्‍यौ, त्यही रिस भरिएका आँखाहरुले... तर एकैछिनमा ती नयनमा केही आस पलाए जस्तो देखियो... तिमीले अप्रत्यासित प्रस्ताव थम्यायौ..
तिमी: हामी यहाँबाट भागौँ???
म असमन्जमा परें... म प्रेममा फस्न नचाहेको मानिसलाई सोझै भाग्ने प्रस्ताव... म केही उत्तर नदिई त्यहाँबाट फर्किएँ.... सायद तिमी यहि चाहन्थ्यौ... तिमी के गर्यौ मैले ध्यान दिइन... सायद गयौ होला....
साँझमा फेरी भेट भयो तर म बोल्न चाहिन... तिमीले पनि प्रयास गरेनौ...
........................................................................
आज भन्दा ८ दिन अघि.... रातभर निदाउन नसकेकोले बिहानीमा झपक्क निदाएछु... ब्युँझदा दिनको १२ बजेको थियो.... गाउँमा अनौठो सुनसान थियो... केही सोचिन... ओछ्यानमा बसीबसी तिमीलाई भेट्ने सोच बनाएँ... तयार भएर तिम्रो घरतिर हिडें...
तिम्रो घर पुग्दा अकस्मात् अर्को चट्यांगले मुटुमा हान्यो... तिम्रो घरमा तिमी थिएनौ... त्यहाँ तिम्रो लास थियो...
..............................................................
सर्वप्रथम मैले आफैलाई दोषी ठहर्याएँ... त्यसको बोझ सहन सकिन... आफ्नो घमण्डलाई दोष दिएँ... तर आखिर मेरो घमण्ड पनि म नै त हुँ... आफ्नो बोझ मुटुमै थोपरेँ... आँखाबाट आँसु झरे... थाम्न सकिन... अनि बग्न दिएँ....
.......................................................................................................
त्यसदिनबाट आजसम्म प्रेम र यसको प्रभावहरु भोग्दै छु... अनि अचेल लाग्छ कि म पनि तिमीलाई साँचो प्रेम गर्थें...
तिमीलाई तिम्रो प्रेमले मार्‍यो... अनि तिम्रो प्रेमलाई मैले...
........
तिम्रो हत्यारा म नै पो हुँ कि???
Read more »